काठमाडौं: वैदेशिक रोजगारीका लागि नेपाल सरकारले लागू गरेको ‘फ्री भिसा फ्री टिकट’ नीतिको धज्जी उडाउँदै वैदेशिक रोजगारमा जाने कामदारसँग ३ लाख रुपैयाँ असुल्न खोज्ने म्यानपावर कम्पनीका एक कर्मचारी काठमाडौंबाट पक्राउ परेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालय र तीनकुने प्रहरी वृत्तको संयुक्त सक्रियतामा गरिएको ‘स्टिङ अपरेसन’का क्रममा ती कर्मचारीलाई तीनकुनेको गैरीगाउँबाट नियन्त्रणमा लिइएको हो।
ठगीको शृङ्खला
सप्तरीका अजयकुमार यादव मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जाने प्रक्रियामा थिए। उनले कोटेश्वरमा रहेको ‘ग्रान्ड स्वीट जब’ नाम गरेको म्यानपावरको झापास्थित शाखा कार्यालयबाट सबै प्रक्रिया पूरा गरेका थिए। मलेसिया जानका लागि सरकारले तोकेको आधिकारिक शुल्क जम्मा १० हजार रुपैयाँ मात्र भए तापनि म्यानपावरले उनीसँग ३ लाख १० हजार रुपैयाँ माग गरेको थियो। पछि १० हजार छुट दिने भन्दै ३ लाख रुपैयाँमा कुरा मिलाइएको थियो।
अजयले यसअघि नै टिकट र अन्य प्रक्रियाका लागि भन्दै ७० हजार रुपैयाँ नगद बुझाइसकेका थिए। वैशाख २९ गते नै उनको उडान (फ्लाइट) तय भइसकेको थियो र मलेसियाको रोजगारदाता कम्पनीले भिसा र टिकट समेत पठाइसकेको थियो। तर, बाँकी २ लाख २० हजार रुपैयाँ भुक्तानी नगरेको भन्दै म्यानपावरले उनको राहदानी (पासपोर्ट), श्रम स्वीकृति र हवाई टिकट बन्धक बनाएर राखेपछि उनी वैशाख २९ मा उड्न पाएनन्।
म्यानपावरले बाँकी पैसा तिरे जेठ ३ गते उडाइदिने आश्वासन दिएपछि अजय पैसाको जोहो गरेर रात्रिकालीन बस चढी शनिबार बिहान काठमाडौं ओर्लिएका थिए।
मन्त्रालयको सचिवालय र प्रहरीको ‘स्टिङ अपरेसन’
काठमाडौं ओर्लिएपछि म्यानपावरको भिसा शाखामा काम गर्ने ती कर्मचारीले अजयलाई फोन गरेर पासपोर्ट र आवश्यक कागजात आफूसँगै रहेको भन्दै तीनकुने गैरीगाउँस्थित पेट्रोल पम्प अगाडि पैसा बोकेर आउन भनेका थिए।
यसअघि नै पीडित अजयले आफूमाथि भएको अन्यायबारे श्रममन्त्री रामजी यादवको सचिवालयमा गुनासो गरिसकेका छन्। अजय श्रममन्त्रीकै निर्वाचन क्षेत्रका मतदाता समेत हुन्। गुनासो प्राप्त हुनासाथ मन्त्री यादवका स्वकीय उपसचिव सरोज यादव आफैं खटिएर केही सञ्चारकर्मी र तीनकुने वृत्तका प्रहरी अधिकारीहरूसहित गैरीगाउँ पुगे।
गैरीगाउँमा ती कर्मचारीले अजयसँग पहिले पैसा मागेका थिए। अजयले पासपोर्ट र कागजात देखाएपछि मात्र पैसा दिने अडान लिएपछि दुवैबीच केहीबेर भनाभन भयो। सोही मौकामा तयारी अवस्थामा रहेको प्रहरी टोलीले ती कर्मचारीलाई रंगेहात नियन्त्रणमा लियो। फ्री भिसा फ्री टिकट भएको देशमा किन ३ लाख रुपैयाँ मागेको भनी प्रहरीले प्रश्न गर्दा ती कर्मचारी नाजवाफ भएका थिए।
थप अनुसन्धान र कानुनी कारबाही
पक्राउ परेका कर्मचारीको साथबाट प्रहरीले अजयको सहित चारवटा पासपोर्ट, फ्लाइट टिकट र अन्य महत्त्वपूर्ण कागजात बरामद गरेको छ। यसले ती कर्मचारीले अन्य व्यक्तिहरूबाट पनि यसै गरी रकम असुल्ने योजना बनाएको पुष्टि गर्छ। ती कर्मचारीलाई थप कानुनी कारबाहीका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ।
श्रम मन्त्रीका स्वकीय सचिव सरोज यादवले भने, “तीनकुनेस्थित गैरीगाउँमा आज एक सोझो नेपाली ठगिनबाट रोकेका छौं। यो विशेष योजनामा साथ दिनुहुने प्रहरी अधिकारीहरूलाई हार्दिक धन्यवाद।”
प्रहरीको सक्रियतापछि अजयको राहदानी, श्रम स्वीकृति, बिमा र हवाई टिकट बरामद गरी उनलाई हस्तान्तरण गरिएको छ। यससँगै अजय आइतबार मलेसिया उड्न पाउने सुनिश्चित भएको छ। पीडित अजयले खुसी व्यक्त गर्दै सुरुमा पैसा लाग्दैन भनेर अन्तिममा भिसा आएपछि म्यानपावरले बन्धक बनाएर दुःख दिएको बताए।
श्रम मन्त्रालयको सचिवालयले वैदेशिक रोजगारीका क्रममा यस्ता ठगी वा समस्या परेमा सिधै श्रम मन्त्रालयमा सम्पर्क गर्न सर्वसाधारणलाई अपिल गरेको छ।






