काठमाडौँ, जेठ ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज देशभर आफ्नो साङ्गठनिक आधारलाई मजबुत बनाउने उद्देश्यका साथ ऐतिहासिक वडा अधिवेशन सुरु गरेको छ. पार्टीले गत वैशाख २० गतेभन्दा अगाडि तदर्थ समितिहरू गठन भइसकेका करिब १,५०० वडाहरूमा आज नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तथा अधिवेशन प्रक्रिया अगाडि बढाएको हो.
रास्वपाको सङ्गठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार हालसम्म देशभरका करिब ३ हजार वडाहरूमा पार्टीको तदर्थ समिति निर्माण भइसकेको छ. तीमध्ये ५० प्रतिशत वडाहरूको अधिवेशन यसअघि नै विभिन्न चरणमा सम्पन्न भइसकेका छन्. तदर्थ समिति गठन भई वडा अधिवेशन हुन बाँकी रहेका अन्य सबै वडाहरूमा आजै एकसाथ अधिवेशन सम्पन्न गरिँदैछ.
दुई चरणमा साङ्गठनिक संरचना निर्माण
पार्टीले साङ्गठनिक कार्यहरूलाई व्यवस्थित बनाउन दुई चरणमा अधिवेशन सम्पन्न गर्ने रणनीति लिएको छ. जेठ ३ गतेअघि तदर्थ समिति गठन हुने अन्य वडाहरूको हकमा भने आगामी जेठ १६ गते वडा अधिवेशन तोकिएको पार्टीले जनाएको छ.
वडा अधिवेशन सम्पन्न भएलत्तै पालिका तहको नेतृत्व चयन गर्ने प्रक्रिया पनि दुई चरणमै सञ्चालन हुनेछ, जसअन्तर्गत जेठ ९ र १७ गते पालिका अधिवेशनहरू हुने कार्यतालिका छ. माथिल्लो तहको सांगठनिक संरचना निर्माणमा बाधा नपुगोस् भन्नका लागि रास्वपाले एउटा विशेष नियम बनाएको छ. जसअनुसार कुनै पनि पालिकाका कुल वडाहरूमध्ये ३० प्रतिशत र जिल्लाको हकमा पनि ३० प्रतिशत पालिकाहरूको अधिवेशन सम्पन्न भइसकेको खण्डमा उपल्लो तहको अधिवेशन नरोकिने नीति तय गरिएको छ.
जिल्लादेखि केन्द्रीय महाधिवेशनसम्मको ‘फास्ट ट्र्याक’ कार्यतालिका
वडा र पालिकाको नेतृत्व चयनपछि रास्वपाले जिल्ला र प्रदेश तहको अधिवेशनलाई तीव्र गतिमा अघि बढाउनेछ:
- जिल्ला अधिवेशन: आगामी जेठ २३ र २४ गते.
- प्रदेश अधिवेशन: जेठ २६ गतेबाट सुरु भई असार १ गतेभित्र समापन गरिनेछ.
- प्रथम केन्द्रीय महाधिवेशन: आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुनेछ.
रास्वपा २०७९ असार ७ गते स्थापना भएको थियो। पार्टीले आफ्नो स्थापनाको ठीक चार वर्ष पुगेकै अवसर पारेर पहिलो केन्द्रीय महाधिवेशनको मिति तय गरेको हो, जसलाई ‘फास्ट ट्र्याक’ विधिको रूपमा पनि हेरिएको छ. आज भइरहेको देशव्यापी वडा अधिवेशनलाई रास्वपाको पहिलो महाधिवेशन सफल पार्ने बलियो प्रस्थानविन्दुका रूपमा लिइएको छ.





